चीनद्वारा नेपाल, यूएई र इजिप्टका लागि उपग्रहसहित लिजियन–१ सफल प्रक्षेपण

काठमाडौं । चीनले बुधबार लिजियन–१ वाइ–११ नामक किनेटिका–१ क्यारियर रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो रकेटमा नौवटा उपग्रह रहेका थिए, जसमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय पेलोड समावेश थिए।

नौ उपग्रहलाई तोकिएको कक्षमा पुर्‍याएपछि मिशनलाई पूर्ण रूपमा सफल भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स ले जनाएको छ।

रकेट निर्माण समेत गर्ने सीएएस स्पेसका अनुसार चीनको विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गतका धेरै उपग्रह शहर योजना, विपद् व्यवस्थापन, जलस्रोत निगरानी तथा मौसम सम्बन्धी अध्ययनमा उपयोगी हुनेछन्।

बुधबारको प्रक्षेपणमा समावेश ‘स्लिपर्स–२ स्याट’ (एस२एस) नेपालका लागि महत्वपूर्ण शैक्षिक परियोजना हो, जसलाई अन्तरिक्ष प्रतिष्ठान नेपाल र एमेच्योर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेका छन्।

यो परियोजनाले सीमान्तकृत तथा कम आय भएका समुदायका बालबालिका, साथै आदिवासी समूहका विद्यार्थीलाई प्रेरणा र प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ। परियोजनाको केन्द्रीय लक्ष्य नेपाली जुनियर–हाई विद्यार्थीलाई नेपालको तेस्रो १–यू क्युब्स्याट आफैं डिजाइन र निर्माण गर्न सहयोग गर्नु हो।

यसबाहेक, विश्वभरका एमेच्योर–रेडियो प्रयोगकर्ताका लागि सफ्टवेयर–आधारित डिजिटल रिपिटर प्रणालीको परीक्षण तथा प्रवर्द्धन पनि परियोजनाभित्र समावेश छ।

यूएईका लागि प्रक्षेपित ‘अरब उपग्रह ८१३’ सीएएसको सांघाईस्थित इनोभेसन एकेडेमी फर माइक्रोस्याटेलाइट्सले विकास गरेको हाइपरस्पेक्ट्रल पृथ्वी अवलोकन उपग्रह हो। यसमा हाइपरस्पेक्ट्रल इमेजर, प्यानक्रोम्याटिक क्यामेरा तथा वायुमण्डलीय ध्रुवीकरण सुधारकजस्ता पेलोड रहेका छन्।

इजिप्टका लागि प्रक्षेपित एसपिनेक्स उपग्रह इजिप्ट स्पेस एजेन्सी तथा इजिप्ट एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको संयुक्त परियोजना हो। यसमा प्लाज्मा डायग्नोस्टिक तथा पृथ्वी अवलोकनका पेलोड छन्, जसको मुख्य उद्देश्य जलवायु परिवर्तन र आयोनोस्फेरिक परिवर्तनका प्रभावको निगरानी गर्नु हो।

सीएएस स्पेसले हालसम्म २६ घरेलु तथा ६ अन्तर्राष्ट्रिय गरी ३२ उपग्रह ग्राहकलाई सेवा दिइसकेको छ। यसको प्रक्षेपण सेवा चीन, युरोप, उत्तर अमेरिका, दक्षिण एसिया, मध्यपूर्व र उत्तर अफ्रिकासहित विभिन्न क्षेत्रमा विस्तारिएको छ।

लिजियन–१ ले अहिलेसम्म ८४ उपग्रहलाई कक्षामा पु¥याइसकेको छ, जसको कुल पेलोड वजन ११ टनभन्दा बढी पुगेको छ। यसले चीनको व्यावसायिक प्रक्षेपण सेवामा उल्लेखनीय बजार हिस्सा ओगटेको सीएएस स्पेसले जनाएको छ।

लिजियन–१ का प्रमुख डिजाइनर शी सियाओनिङका अनुसार, भविष्यमा सीएएस स्पेसले ‘लिहोङ’ सिरिजका स्पेसक्राफ्टमार्फत प्रक्षेपण यान पुनःप्राप्ति तथा पुनःप्रयोग प्रविधि परीक्षण गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया