चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोशित कानुनी उपचार खोज्ने जगदीश खरेलको चेतावनी,

काठमाडौं, वैशाख २४ । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् ।

सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रकम हिनामिनाको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै उनले ती आरोप असत्य र नियोजित भएको बताएका हुन् । “गल्ती गरेको छैन, त्यसैले डर पनि छैन। सत्य सधैं सत्य नै हुन्छ, भन्दै उनले आफ्नो इमान नै आफ्नो बल भएको उल्लेख गरेका छन् ।

हाल स्वीट्जरल्याण्डमा रहेका खरेलले केही मिडिया र सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर ‘फेक न्युज’ फैलाइएको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्ने प्रयास भएको दाबी गरेका छन् ।

ललितपुर–२ बाट निर्वाचित सांसद खरेलले आफूविरुद्ध भएको भनिएको मिडिया ट्रायलप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया