गौर हत्याकाण्ड: सर्वोच्चको आदेशपछि गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं, – गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग अनौपचारिक छलफल गरेका छन्।

स्रोतका अनुसार, मंगलवार गृह मन्त्रालयमा आयोजित बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।

२०६३ सालमा भएको गौर हत्याकाण्डमा २७ जनाको ज्यान गएको थियो। सो घटनामा विभिन्न राजनीतिक समूहबीचको झडपमा ज्यान गुमाएका पीडितको पक्षबाट न्यायिक प्रक्रियाको माग हुँदै आएको छ।

सोमवार सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय रौतहट तथा सरकारी वकिलको कार्यालयलाई अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो।

उक्त घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित करिब १३० जनाको संलग्नता रहेको आरोप लाग्दै आएको छ। यद्यपि, आरोपित पक्षले निरन्तर आफू निर्दोष रहेको दाबी गर्दै आएको छ।

सुरक्षा अधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लेखकले अदालतको आदेश कार्यान्वयन, अनुसन्धान प्रक्रिया र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीबारे विचार–विमर्श गरेका थिए।

तपाईको प्रतिक्रिया