गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवाको शव फेला

रसुवा — गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका थिए। सोमबार बिहान १० बजे उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

दुवै जना मामा–फुपुका छोरा अर्थात् आपसमा दाजुभाइ हुन्। सुजन केही दिनअघि विराटनगरबाट काठमाडौं पुगेका थिए भने मनोज काठमाडौंमै बस्दै आएका थिए। उनीहरू १० साउनमा साथीहरूसहित गोसाइँकुण्ड प्रस्थान गरेका थिए।

स्थानीय तथा प्रहरी स्रोतका अनुसार, स्नान गर्ने क्रममा एक जना चिप्लिएपछि अर्का उनलाई बचाउने प्रयासमा लागेका थिए। तर, दुबै जना त्यसक्रममा बेपत्ता भएका थिए।

मृतकका आफन्त विवेक मिश्रका अनुसार शवलाई काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया