क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा कलंकीबाट युवक पक्राउ, ७८ लाखभन्दा बढीको लेनदेन

काठमाडौं, – प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने युवक २१ वर्षीय सुशान्त दाहाल हुन्, जो हेटौंडा घर भई हाल भक्तपुरको कौशलटारमा बसोबास गर्दै आएका छन्।

एसपी कुलदिप चन्दका अनुसार कलंकी क्षेत्रमै क्रिप्टो कारोबार भइरहेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले दाहाललाई शनिबार पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा उनले युएसडिटी, बिट्कोइन (BTC), इथेरियम (ETH) र बिएनबी (BNB) लगायतका डिजिटल मुद्राहरूको कारोबार गरेको खुलेको छ।

उनले नेपाली रुपैयाँमा ७८ लाख ३० हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको देखिएको प्रहरी दाबी छ। पक्राउसँगै प्रहरीले एक थान मोबाइल र दुई थान सिमकार्ड समेत बरामद गरेको छ।

अभौतिक मुद्रा कारोबारसम्बन्धी प्रचलित कानुनी प्रावधानअनुसार दाहालमाथि थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

तपाईको प्रतिक्रिया