कोसी प्रदेशका विवादित मन्त्री फिर्ता गर्न मुख्यमन्त्री कार्कीको आग्रह

काठमाडौं— कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले हाल विवादमा तानिएका कांग्रेस मन्त्रीहरूलाई फिर्ता बोलाउन नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आग्रह गरेका छन्।

स्रोतका अनुसार, पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल ‘क्यूआर कोड’मार्फत रकम मागेको भनिएको एक घटनापछि सार्वजनिक चासोको विषय बनेका छन्। यस सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा बैठकमा सरकारसँग जवाफ मागेपछि मुख्यमन्त्रीले दलगत छलफल थालेका हुन्।

त्यस्तै, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगाम पनि ताप्लेजुङमा एक युवामाथि हातपात गरेको भनिएको घटनामा विवादमा छन्।

गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्की व्यक्तिगत रूपमा विवादित मन्त्रीहरूलाई हटाउन इच्छुक देखिए पनि गठबन्धन सरकारको प्रकृतिका कारण उनले दलगत सहमतिको आवश्यकता औंल्याएका छन्।

छलफलका क्रममा कांग्रेस नेता थापाले पार्टी सभापति शेरबहादुर देउवासँग परामर्शपछि मात्रै आवश्यक निर्णय हुने बताएका छन्।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि विवादमा तानिएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा पठाउनुपर्ने माग उठिसकेको छ। कोसीका कांग्रेस सांसद एवं केन्द्रीय सदस्य भीम पराजुलीले निरन्तर विवादमा रहने मन्त्रीले पार्टीको छवि प्रभावित गर्ने बताएका थिए।

कोसी प्रदेश कांग्रेस संसदीय दलको बैठकमा पनि मन्त्रीहरूको आचरण र सार्वजनिक व्यवहारबारे छलफल भएको स्रोतको भनाइ छ।

हाल कोसी सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगाम, पर्यटनमन्त्री सदानन्द मण्डल, र भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी रहेका छन्।

मंगलबार बसेको कोसी प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद राजेन्द्र कार्कीले सरकारसँग विवादित मन्त्रीहरूलाई हटाउने विषयमा स्पष्ट जवाफ मागेका थिए।

तपाईको प्रतिक्रिया