केपी ओली बिना एमालेको कल्पना सम्भव छैन : भानुभक्त ढकाल

कञ्चनपुर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबिना एमालेको कल्पना गर्न नसकिने बताएका छन्।

शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले एमालेलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ओलीको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार तीनै तहका सरकारलाई जनउत्तरदायी बनाउने र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न ओली नेतृत्व अपरिहार्य छ।

ढकालले पार्टीभित्र नेतृत्वबारे आलोचना वा आकांक्षा राख्न पाइने भए पनि त्यसलाई विधानसम्मत ढंगले प्रस्तुत गर्नुपर्ने बताए। “ओली बिनाको एमाले बनाऊ भन्न पाइन्छ, म ओलीभन्दा राम्रो नेतृत्व दिन सक्छु भन्न पनि पाइन्छ, तर भन्ने कुरा उपयुक्त स्थानमा भन्नुपर्छ,” उनले स्पष्ट पारे।

उनका अनुसार दुई कार्यकाल र ७० वर्ष उमेर सीमा सम्बन्धी निर्णय कुनै एक व्यक्तिलाई लक्षित गरेर होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सामूहिक निर्णयमा आधारित हो।

महाधिवेशनमा प्रतिस्पर्धा गर्ने सबैलाई अधिकार भए पनि पार्टी विधान विपरीत हल्ला फैलाउनु गैर–जिम्मेवार कार्य भएको ढकालको भनाइ थियो।

कार्यक्रममा सहभागी पोलिटब्युरो सदस्य निरुदेवी पालले पनि ओलीविनाको एमाले र एमालेविनाको नेपाल कल्पना गर्न नसकिने बताउँदै, समृद्धिको लक्ष्य प्राप्तिका लागि वर्तमान नेतृत्व नै उपयुक्त रहेको धारणा राखिन्। “केन्द्रीय कमिटीको निर्णय नै पार्टी विधान र महाधिवेशनको सार हो,” पालले भनिन्।

तपाईको प्रतिक्रिया