कुवेतमा विषाक्त मदिरा प्रकरण : मृत्यु भएका पाँच नेपालीको शव काठमाडौं आइपुग्यो

काठमाडौं — कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीहरू मध्ये पाँचजनाको शव काठमाडौं ल्याइएको छ।

कुवेत स्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार ती शवहरू बिहीबार काठमाडौं आइपुगेका हुन्।
“हामीले मृत्यु हुनेमध्ये पाँचजनाको शव पठाएका थियौं, ती बिहीबार काठमाडौं आइपुगे,” उनले जानकारी दिए।

गत साता कुवेतमा विषाक्त मदिरा सेवनपछि १६० भन्दा बढी एसियाली नागरिक अस्पताल भर्ना भएका थिए। तीमध्ये ५० भन्दा बढी नेपाली थिए।
घटनामा २३ जनाको मृत्यु भएको पुष्टि कुवेतको गृह मन्त्रालयले गरेको छ। तीमध्ये १२ जना नेपाली रहेको जानकारी त्यहाँ स्थित नेपाली दूतावासलाई दिइएको छ।

तर, नेपाल पत्रकार महासंघ कुवेत शाखाले भने मृतक नेपालीको संख्या १६ रहेको जनाएको छ।

श्रम सहचारी आचार्यका अनुसार बाँकी सातजनाको शव आगामी साता नेपाल पठाउने तयारी भइरहेको छ।

अहिले पनि १३ जना नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये सातजनाको अवस्था गम्भीर छ र आईसीयूमा राखिएको छ भने अन्यलाई भेन्टिलेटर र सामान्य वार्डमा उपचार दिइँदैछ।

तपाईको प्रतिक्रिया