कुलिङ पिरियड प्रकरणमा गगन थापा आक्रोशित, छानबिन समितिको माग

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान सर्वसम्मतिबाट पारित भएको अवस्थामा त्यसलाई परिवर्तन गर्ने कार्य गम्भीर र अक्षम्य अपराध भएको बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विधेयकमा सामूहिक सहमति प्राप्त प्रावधानलाई एकल निर्णयबाट परिवर्तन गर्नु आपत्तिजनक भएको बताए। उनले यस्ता कदम चालेकालाई कारबाहीको दायरामा ल्याउनुका साथै ‘कुलिङ अफ पिरियड’को मर्म अनुसार नै अगाडि बढ्नुपर्ने धारणा राखे।

“निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने कुरामा सबैको सहमति थियो। अन्तिम बोल्ने व्यक्तिमध्ये म पनि थिएँ। समिति सचिवालयको जिम्मेवारी भनेकै सहमति अनुसार प्रतिवेदन तयार पार्नु हो,” उनले भने, “तर कसैले मनोमानी गरेर चलखेल गरेको हो भने तत्काल संसदबाट छानबिन समिति गठन गरेर जिम्मेवार पहिचान गर्नुपर्छ।”

थापाले यदि संसदको सर्वोच्चतालाई चुनौति दिने नियोजित चलखेल भएको हो भने त्यसमा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए। त्रुटिवश गल्ती भएको भए पनि त्यसले संसदको सामूहिक निर्णयको अवहेलना गर्ने भएकाले कानुनी कार्यवाहीबाट उन्मुक्ति नहुने उनको भनाइ थियो।

उनले यस घटनाले सांसदहरूले पनि समितिमा भएका सहमतिहरूलाई केवल विश्वासको आधारमा समर्थन गर्नुभन्दा प्रत्येक धाराको अध्ययन गरेर निर्णय गर्नुपर्ने गम्भीर पाठ सिकाएको बताए। अबदेखि ‘सहमति भएकै हो’ भन्ने मानसिकता त्यागेर विधेयकको हरेक पंक्ति सुक्ष्मरूपमा अध्ययन गरी समर्थन गर्ने अभ्यास गर्नुपर्ने उनको जोड थियो।

तपाईको प्रतिक्रिया