किसानलाई असर गर्ने कुनै सम्झौता हुन्न : ट्रम्पको ट्यारिफपछि मोदीको भनाइ

काठमाडौं, — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हितविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले किसानलाई प्राथमिकतामा राख्दै, आवश्यक परेमा व्यक्तिगत रूपमा मूल्य चुकाउन पनि तयार रहेको बताएका छन्।

नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले देशका किसानको हित सर्वोच्च रहेको उल्लेख गरे। “कुनै पनि सम्झौता हाम्रो किसानको अहितमा हुँदैन,” उनले भने, “म मूल्य चुकाउन तयार छु, तर किसानको हितमा सम्झौता गर्न सक्दिन।”

ट्रम्पको ट्यारिफ घोषणापछि पनि मोदीले प्रत्यक्ष रूपमा न त ट्रम्पको नाम लिएका छन्, न त करको विषयलाई नै खुलेर टिप्पणी गरेका छन्। तर, उनको अभिव्यक्ति अमेरिकी निर्णयप्रति अप्रत्यक्ष जवाफका रूपमा हेरिएको छ।

अमेरिकाले भारतसँग कृषि बजार खुलाउन निरन्तर दबाब दिँदै आएको छ। भारतले खाद्य सुरक्षा, कृषकको जीविकोपार्जन र आन्तरिक बजारको संरक्षणलाई कारण देखाउँदै अमेरिकी कृषि उत्पादनका लागि बजार खुला गर्न अस्वीकार गर्दै आएको छ। यही कारण दुई देशबीच व्यापार सम्झौता रोकिएको बताइन्छ।

भारतको आयात नीतिमा कडाइ

भारतले आफ्ना किसानहरूको हित जोगाउन कृषि वस्तुमा शून्यदेखि १५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै आएको छ। नयाँ दिल्लीस्थित थिंक ट्यांक ‘ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ’ (GTRI) का अनुसार, भारतमा अमेरिकी कृषि उत्पादनमाथि औसत ३७.७ प्रतिशत भन्सार शुल्क लाग्छ। विपरीत, अमेरिकाले भारतीय कृषि वस्तुमा औसत ५.३ प्रतिशत मात्र शुल्क लगाउँदै आएको छ।

तपाईको प्रतिक्रिया