कारागारबाट फरार रायमाझी डिल्लीबजार जेलमा फर्किए

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा (एमाले) नेता तथा निलम्बित सांसद टोपबहादुर रायमाझी फेरि कारागारमा फर्किएका छन्। डिल्लीबजार कारागार स्रोतका अनुसार उनी मंगलबार पुनः कारागारमा उपस्थित भएका हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी सुन्धारास्थित कारागारबाट भागेका थिए। करिब दुई सातापछि उनी पुनः सोही कारागारमा फर्किएका हुन्।

कारागार स्रोतका अनुसार, सुन्धारा कारागारमा फर्किएपछि रायमाझीलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको हो।

यसअघि सोही कारागारबाट फरार भएका चूडामणि उप्रेती उर्फ ‘गोरे’ पनि फर्किसकेका छन्। स्रोतका अनुसार, उक्त कारागारबाट भागेका करिब ३३ सय कैदीमध्ये एक हजारजना कारागार फर्किएका छन् भने केही अन्य कैदीहरू देशका विभिन्न जिल्ला कारागारहरूमा सम्पर्कमा आएका छन्।

तपाईको प्रतिक्रिया