कांग्रेसलाई संकटबाट जोगाउन पुस्तान्तरण र समयमै महाधिवेशन आवश्यक : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी भित्रको नेतृत्वको पुस्तान्तरण र संरचनात्मक रुपान्तरण निर्वाचन अघि नै हुनुपर्नेमा जोड दिएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले परिवर्तन बिना आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सक्ने सम्भावना न्यून हुने बताए। पौडेलले प्रस्तुत गरेको प्रस्तावमा हाल देखिएको असन्तुष्टिको सम्बोधन, विशेष महाधिवेशनको आवश्यकता, युवाको सक्रिय सहभागिता, र तोकिएको समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नु पर्ने माग समावेश छ। उनको भनाइमा, “ताजा जनादेशका साथ नयाँ नेतृत्व र नीति ल्याइएन भने पार्टीमा नयाँ ऊर्जा आउँदैन।

नवयुवाको आकर्षण पार्टीतर्फ बढ्दैन। यस्तो अवस्थामा देशका चुनौतीहरू समाधान गर्न सक्ने क्षमतामा कमी आउँछ।” विशेष महाधिवेशनको माग अघि सारेका पार्टी नेताहरूलाई धन्यवाद दिँदै पौडेलले कुनै पनि बहानामा महाधिवेशन सार्ने, म्याद थप्ने वा अन्य ढिलासुस्ती गर्ने कार्यले पार्टी मात्र होइन, देशलाई समेत संकटमा पार्न सक्ने चेतावनी दिए।

तपाईको प्रतिक्रिया