कांग्रेसभित्रको असमझदारी अन्त्य गर्न विद्यार्थी नेताहरूको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका विद्यार्थी नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीभित्र देखिएका आन्तरिक असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्न पहल गर्न सुझाव दिएका छन्।

शुक्रबार नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको एक टोलीले सभापति देउवासँग भेट गर्दै पार्टी संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको हो। भेटका क्रममा उनीहरूले विगतमा आन्तरिक मतभेदका कारण पार्टीले भोग्नुपरेका चुनौतीहरू स्मरण गराउँदै यस्ता अवस्था दोहोरिन नदिन समयमै पहल आवश्यक रहेको धारणा राखेका थिए।

विद्यार्थी नेताहरूले पार्टीभित्र बढ्दो असमझदारीले संगठनात्मक सुदृढतामा असर पार्न सक्ने भएकाले आपसी संवाद, सहकार्य र मेलमिलापको प्रक्रिया मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

भेटवार्ताका बारेमा जानकारी दिँदै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नु अपरिहार्य रहेको बताए। उनले पार्टीलाई अनुशासित, मजबुत र जनमुखी बनाउने जिम्मेवारी सबै तहका नेता तथा कार्यकर्ताको साझा दायित्व भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया