कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय, समसामयिक राजनीतिदेखि संगठन सुदृढीकरणसम्म छलफल हुने

काठमाडौं — सत्तारूढ नेपाली कांग्रेसले सोमवारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका लागि छलफलका एजेन्डाहरू तय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले उक्त एजेन्डाहरू तय गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकमा समसामयिक तथा राजनीतिक घटनाक्रमको समग्र समीक्षा गरिनेछ। साथै, भ्रातृ संगठनहरूलाई थप समय दिने विषय पनि बैठकको महत्वपूर्ण एजेन्डामा रहेको उनले जानकारी दिए।

भ्रातृ संस्थामध्ये कतिपयले अधिवेशन सकाएका छन् भने केहीले अझै काम बाँकी रहेको सन्दर्भमा समयावधि निर्धारण गर्ने विषयमा छलफल गरिनेछ। संस्थागत आवश्यकता अनुसार समय थप्ने वा कार्यसम्पादनको मूल्यांकन गर्ने विषय बैठकमा उठ्नेछ।

त्यसैगरी, विदेशमा रहेका पार्टीका जनसम्पर्क समिति सशक्त बनाउने रणनीति पनि छलफलको केन्द्रमा रहनेछ।

प्रदेश र संघीय बजेटबारे पार्टीको धारणा तथा रणनीतिको विषयमा समेत बैठकमा विमर्श हुने प्रवक्ता महतले बताएका छन्।

उनका अनुसार, क्रियाशील सदस्यहरूको वर्तमान स्थिति र संगठनात्मक सुधारका विषयमा पनि बैठकमा समीक्षा हुनेछ। यससँगै कांग्रेसले सञ्चालन गरेको ‘सय दिने संगठनात्मक अभियान’ को मूल्यांकनसमेत एजेन्डामा समावेश गरिएको छ।

सरकारको सञ्चालन, त्यसमा पार्टीको भूमिकालगायत विषयमा पनि बैठकमा गहन छलफल हुने महतले बताएका छन्।

तपाईको प्रतिक्रिया