कांग्रेस एकताबद्ध छ, कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाल सञ्चालनमा रहेको अभियानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। केही समूहले कांग्रेस फुट्ने हल्ला फैलाइरहेको भन्दै उनले यस्ता चर्चा निराधार रहेको स्पष्ट पारे।

नेता चन्द्र भण्डारी र सुनिल शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले पार्टी एकताबद्ध रहेको दाबी गर्दै कसैको चाहनाले मात्रै कांग्रेस नफुट्ने बताएका हुन्। उनले देशभरका कार्यकर्तालाई आश्वस्त पार्दै पार्टी विभाजनको कुनै सम्भावना नरहेको उल्लेख गरे।

थापाले पार्टीभित्र देखिने चुनौतीपूर्ण अवस्थालाई पनि एकतामै समाधान गरिने भन्दै नेतृत्वको दायित्व एकता जोगाउनु रहेको धारणा राखे। पार्टीलाई समयअनुसार सान्दर्भिक बनाउने उद्देश्यले अभियान अघि बढाइएको र त्यसैअनुसार काम भइरहेको उनको भनाइ थियो।

उनले राजनीतिक प्रतिद्वन्द्वी दलतर्फ संकेत गर्दै नयाँ पुस्तासँग सम्बन्धित विषयलाई हल्का रूपमा लिने प्रवृत्ति उचित नहुने बताए। कांग्रेसले यस्ता विषयलाई गम्भीर रूपमा बुझेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

महामन्त्री थापाले पार्टीभित्रको संवाद, अभियान र संगठनात्मक प्रयासले कांग्रेसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया