कर्मचारी सरुवामा पारदर्शिता ल्याउन संघीय निजामती सेवा विधेयक निर्णायक : मन्त्री न्यौपाने

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयकलाई कर्मचारी सरुवा प्रणाली पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण दस्तावेजको रूपमा उल्लेख गर्नुभएको छ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले हाल प्रचलनमा रहेको “भनसुनका आधारमा हुने सरुवा” रोक्न विधेयकले सहायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भनिन्, “अब अनुमान र सिफारिसका भरमा हुने सरुवाको अन्त्य गर्नुपर्छ। सरुवा प्रक्रिया पारदर्शी, निष्पक्ष र सेवा प्रवाहमैत्री हुनुपर्छ। यसले संघीयता कार्यान्वयनमा सकारात्मक योगदान पुर्‍याउनेछ।”

प्रतिनिधि सभाबाट पारित भइसकेको सो विधेयक हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलको चरणमा रहेको छ। समितिमा सांसदहरूले १६ समूहमा विभाजन गरी विधेयकका १९३ बुँदामध्ये विभिन्न बुँदामा संशोधन प्रस्तावहरू पेस गरेका छन्।

मन्त्री न्यौपानेले संघीय शासन प्रणालीको सफल कार्यान्वयनका लागि कर्मचारी व्यवस्थापन पारदर्शी र निष्पक्ष हुन आवश्यक रहेको र यही लक्ष्यसहित विधेयक अगाडि बढाइएको स्पष्ट पार्नुभयो।

तपाईको प्रतिक्रिया