कम्बोडियाको आग्रह : थाइल्यान्डले कब्जामा लिएका २० सैनिक फिर्ता गरियोस्

काठमाडौं — सीमा विवादका कारण पाँच दिनसम्म चलिरहेको लडाइँपछि कम्बोडिया र थाइल्यान्डबीच गत साता युद्धविराम घोषणा भए पनि सीमामा तनावको अवस्था अझै कायम छ। पछिल्लो घटनाक्रममा, कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० जना सैनिक फिर्ता गर्न औपचारिक अनुरोध गरेको छ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटले बिहीबार पत्रकार सम्मेलन गर्दै ती सैनिक युद्धविराम भएको करिब आठ घण्टापछि थाई सेनाले नियन्त्रणमा लिएको दाबी गरे। “हाम्रा सबै सैनिकलाई सकुशल र यथासक्य चाँडो फिर्ता ल्याउन वार्ता जारी छ,” उनले भने, “थाई पक्षलाई २० जना सैनिक तुरुन्त फिर्ता पठाउन हामी आग्रह गर्दछौं।”

पाँच दिन लामो भिडन्तमा कम्तीमा ४३ जनाको ज्यान गएको छ। थाइल्यान्डले आफ्ना १५ सैनिक र १५ नागरिकको मृत्यु भएको जनाएको छ भने कम्बोडियाले आठ जना नागरिक र पाँच जना सैनिकको मृत्यु पुष्टि गरेको छ। यो पछिल्लो भिडन्त सन् २००८–२०११ बीच भएका झडपहरूभन्दा धेरै घातक भएको बताइएको छ।

थाइल्यान्ड सरकारका अनुसार, नियन्त्रणमा लिइएका कम्बोडियाली सैनिकलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र सैन्य प्रोटोकलअनुसार व्यवहार गरिएको छ। सीमामा अवस्था सामान्य भएपछि उनीहरूलाई फिर्ता गरिने जनाइएको छ।

यसबीच, संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले दुवै देशलाई युद्धविराम सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न र विश्वास तथा शान्ति निर्माणतर्फ अग्रसर हुन आग्रह गरेका छन्। “कूटनीतिक पहल जारी रहँदा शान्तिको सम्भावनालाई बल दिन युद्धविराम सम्झौतामा दुवै पक्षले पूर्ण सम्मान देखाउनुपर्छ,” उनले भने।

तीन लाखभन्दा बढी विस्थापित

सीमा क्षेत्रको पहाडी ग्रामीण भूभागमा रकेट, तोप र जेट आक्रमण भएको लडाइँका कारण करिब तीन लाख मानिसले आफ्नो घर छाड्नुपरेको छ। दुवै मुलुकले एकअर्कालाई उक्साहटको आरोप लगाउँदै आन्तरिक तथा बाह्य कूटनीतिक प्रयासमा जुटेका छन्।

त्यसैक्रममा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा मलेसियामा शान्ति सम्झौता भएको उल्लेख गरिएको छ। थाइल्यान्ड र कम्बोडिया दुवैले व्यापारिक सम्बन्धमा कटौती हुन नदिन अमेरिकी समर्थन खोज्दै छन्।

तपाईको प्रतिक्रिया