एसईईमा पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को आगामी चैत ७ गते सुरु हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिएको छ। सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको र परीक्षा केन्द्रको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए।

यस वर्षको एसईईमा पाँच लाख आठ हजार ३९० विद्यार्थी सहभागी हुनेछन्। यसमा चार लाख ३३ हजार नियमित विद्यार्थी र ७५ हजार २४५ ग्रेडवृद्धि विद्यार्थी हुने नियन्त्रक पौडेलले बताए। हालसम्म २७९ परीक्षा केन्द्र निर्धारण भइसकेका छन् र केन्द्र थपिने सम्भावना पनि छ।

यस वर्षको एसईईमा सुधार गृह र कारागारका विद्यार्थीहरूलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ। काठमाडौं र दैलेखका दुई कारागारका विद्यार्थीले परीक्षा दिन सक्नेछन् भने भक्तपुरको सुधार गृहबाट पनि विद्यार्थीहरूको परीक्षा लिने तयारी गरिएको छ।

यस वर्ष, कीर्तिपुस्थित सफलता एचआईवी शिक्षा सदनबाट पनि विद्यार्थीहरू एसईईमा सहभागी हुनेछन्। सो विद्यालयका चारजना एचआईवी संक्रमित विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक पौडेलले जानकारी दिएका छन्।

यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ सिष्टम अन्तर्गत प्रकाशित हुनेछ, जुन गत वर्षदेखि लागू गरिएको थियो। परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया