एमाले सचिव पदको दौडबाट लेखराज भट्ट बाहिरिए

काठमाडौँ — नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता लेखराज भट्टले पार्टी सचिव पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली पक्षबाट सचिवमा उनको नाम तय गरिएको भए पनि भट्टले अन्तिम समयमा आफू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका हुन्।

एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष ओलीले पदाधिकारीका सम्भावित नामहरू टुंगो लगाउने क्रममा भट्टलाई सचिव पदका लागि अघि सारेका थिए। तर पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टले उक्त प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने निर्णय सार्वजनिक गरेका हुन्।

ओली पक्षबाट उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम निश्चित गरिएको छ। यसअघि महासचिव पदमा आकांक्षा देखाएका प्रदीप ज्ञवालीलाई सहमतिमै उपाध्यक्षमा समेटिएको जनाइएको छ।

महासचिव पदका लागि शंकर पोखरेलको नाम अन्तिम रूपमा टुंगो लागेको छ। अन्तिम समयसम्म दाबी कायम राखेपछि पोखरेललाई महासचिव बनाउने र ज्ञवालीलाई उपाध्यक्षमा लैजाने सहमति भएको बताइएको छ। अध्यक्ष ओलीको प्राथमिकतामा पनि पोखरेल नै रहेको स्रोतको भनाइ छ।

उपमहासचिव पदमा तीन जना निर्वाचित हुने व्यवस्थाअनुसार रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम तय गरिएको छ।

सचिव पदमा नौ जना निर्वाचित हुनेछन्। ओली पक्षबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम सचिवका उम्मेदवारका रूपमा टुंगो लागिसकेको छ। लेखराज भट्टले उम्मेदवारी नदिने घोषणा गरेपछि उनको स्थानमा अर्को उम्मेदवार चयन गर्नुपर्ने अवस्था बनेको छ।

तपाईको प्रतिक्रिया