एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना प्रदर्शन गरेको छ।

सरकारले अघिल्लो समय भएका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन्। महासंघका अनुसार, शिक्षक र विद्यालय कर्मचारीहरूको मुख्य मुद्दा आगामी विद्यालय शिक्षा विधेयकमा समेटिनु पर्ने आवश्यकता छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसअघि भएका सहमतिहरूका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिनका लागि विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको जानकारी दिए। उनले यसपटकको आन्दोलन निर्णायक हुने र चाँडोभन्दा चाँडो विद्यालय शिक्षा ऐन अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

दोस्रो चरणको आन्दोलनका क्रममा महासंघले चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने जनाएको छ। त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने तयारी भएको महासंघको भनाइ छ।

तपाईको प्रतिक्रिया