एमाले महासचिवमा शंकर पोखरेललाई अघि सार्ने ओली पक्षको तयारी

काठमाडौँ — नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाउने तयारी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि शीर्ष नेताहरूबीच भएको छलफलका आधारमा पोखरेललाई नै महासचिवको उम्मेदवार बनाइने स्रोतको भनाइ छ।

महासचिव पदका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले पनि दाबी गर्दै आएका थिए। तर उनीहरूलाई उपाध्यक्ष पदमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताइएको छ।

आइतबार भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका माध्यमबाट नेतृत्व चयनका लागि अन्तिम क्षणसम्म प्रयास गरिने बताएका थिए। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको संयुक्त प्यानल बनाएर निर्वाचन हुने सम्भावना देखिएको छ। यसबीच विभिन्न समूहका नेताहरूबीच सहमतिको खोजी तीव्र बनाइएको छ। यद्यपि केही महाधिवेशन प्रतिनिधिहरूले प्यानल बनाएर निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन्।

पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे वा योगेश भट्टराईलाई उम्मेदवार बनाउने चर्चा पनि चलिरहेको छ। पाण्डे हाल उपाध्यक्ष हुन् भने भट्टराई सचिव पदमा रहेका छन्। भट्टराई उपमहासचिव पदमा उम्मेदवार बन्न सक्ने सम्भावनासमेत रहेको छ।

केन्द्रीय समितिले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी कुल १९ पदाधिकारी रहने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव बन्द सत्रले सर्वसम्मत रूपमा पारित गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार पोलिटब्युरो स्थायी कमिटीको एकतिहाइ रहनेछ भने पोलिटब्युरो सदस्य ९९ जना र पदाधिकारीसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइने निर्णय भएको छ। यस संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक तथा पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माण गर्ने लक्ष्य लिएको ढुंगेलले बताए।

हाल जारी महाधिवेशनको बन्द सत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार आज बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।

तपाईको प्रतिक्रिया