एकतिहाइ महिला पुर्‍याउन केन्द्रीय समितिमा १३ जना थपिएको हो:प्रचण्ड सचिवालय

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड सचिवालयले निर्वाचन आयोगमा दल दर्ताका क्रममा बुझाइएका विवरणबारे केही भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएको छ। सचिवालयका अनुसार, आयोगमा बुझाइएको सूचीका कारण उत्पन्न भएको भ्रम अनावश्यक भएको हो।

सचिवालयले स्पष्ट पार्दै भन्यो, “नेपाली कम्युनिस्ट पार्टी निर्माणको लागि सुरु भएको वाम एकता प्रक्रियाबारे केही गलत बुझाइ फैलिएको छ। एकीकृत समाजवादी लगायत अन्य वाम विचारधाराका पार्टीहरू एकीकृत भएर नयाँ नेकपा निर्माणको प्रक्रिया अघि बढिसकेको छ। पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिमा गठन हुनेछन् र त्यसका लागि गृहकार्य जारी छ।”

प्रचण्ड सचिवालयका अनुसार, आयोगमा दल दर्ताका लागि पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो। कानुनअनुसार एकतिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध १३ जना महिला सदस्यको नाम सूचीमा थप गरिएको हो।

सचिवालयले जारी स्पष्टीकरणमा जोड दियो, “आयोगमा बुझाइएको नामको बारेमा धेरै चर्चा गर्नु उचित छैन। विधानअनुसार पूर्ण संरचना निर्धारण भएपछि मात्रै टुंगो लाग्नेछ। हामी सबैमा दृढतापूर्वक अनुरोध गर्दछौं कि बाँकी एकीकरण अभियानमा कुनै भ्रममा नपरी सहयोग गरियोस्।”

तपाईको प्रतिक्रिया