ऊर्जामन्त्री खड्काले संसदमा भने– ‘कुलमान कानुनभन्दा माथि छन् भने संसद्ले भनिदिनुपर्छ

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि छन् भने संसद्ले यो स्पष्ट गर्नुपर्ने बताएका छन्। सांसदहरूले कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।

मन्त्री खड्काले कुलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कनका लागि समयमै अनुरोध नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफैँले नम्बर दिई पठाएको जानकारी दिए।

ऊर्जामन्त्रीले प्राधिकरणले वास्तविक नाफा नदेखाई नाफाको आँकडा प्रस्तुत गरेको आरोप पनि लगाए। उनले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता महसुललाई समेत नाफामा जोडेर नाफा देखाएको र यस आधारमा जनतालाई शेयर जारी गर्न प्रिमियम मूल्य देखाइएको बताए।

उनले प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) गर्ने निर्णय गरेपनि कुलमान घिसिङले त्यो प्रक्रिया अघि बढाएको छैन भन्दै असन्तुष्टि व्यक्त गरे। उनले कुलमानको नेतृत्वमा रहेको प्राधिकरणका २५ भन्दा बढी संस्थाको विवरण पनि प्राप्त गर्न नसकेको बताए।

मन्त्री खड्काले थप भने, “हामीले ९ पटक लिखित अनुरोध गर्‍यौँ, उहाँले सुन्नुभएन र अझै पनि काम नगरेको छ। यदि उहाँलाई कानुन नलाग्ने हो भने संसद्ले यसलाई स्पष्ट गर्नुपर्छ।”

तपाईको प्रतिक्रिया