उम्मेदवारी प्रक्रिया रोक्न देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं ।नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित उम्मेदवारी चयन तथा दर्ता प्रक्रिया स्थगन गर्न निर्वाचन आयोगमा माग दर्ता गराएका छन्।

आयोगले विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई मान्यता दिएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै देउवा पक्षले यसअघि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। सोही रिटको निर्णय नआएसम्म निर्वाचनसम्बन्धी कार्यक्रम अघि नबढाउनुपर्ने मागसहित उनीहरू निर्वाचन आयोग पुगेका हुन्।

निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, पार्टीसम्बन्धी आयोगले गरेको निर्णय गैरकानुनी र असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएकाले अदालतको अन्तिम फैसला नआएसम्म आयोगका निर्वाचनसम्बन्धी गतिविधि स्थगन गर्नुपर्ने माग गरिएको हो। उक्त रिट निवेदनको प्रतिलिपि निर्वाचन आयोगलाई जानकारीका लागि बुझाइएको उनले बताएका छन्।

देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उम्मेदवार चयन प्रक्रिया रोक्न, निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न तथा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई खारेज गर्न माग गरिएको उल्लेख छ।

त्यसैगरी, प्रतिनिधि सभा निर्वाचनका लागि तय गरिएको मनोनयन प्रक्रिया रोक्न र नयाँ मिति तोक्न परमादेश जारी गर्न पनि अदालतसँग माग गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया