उपनिर्वाचन नजिकिँदै : रुपन्देही–३ मा उम्मेदवार चयनको दौड सुरु

काठमाडौं ।रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका कार्यक्रमहरू निर्वाचन आयोगले स्वीकृत गरेको छ।

आयोगकी प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन प्रक्रिया असोज ११ गते बिहान १० बजेदेखि सुरु हुनेछ। सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्। मनोनयन दर्तापछि सोही दिन साँझ ७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशित गरिने छ।

असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ। उजुरीमाथिको जाँचबुझ र निर्णय सोही दिन दिउँसो ३ बजेदेखि सुरु भई असोज २३ गते बेलुकी ५ बजेसम्म गरिने छ।

त्यसपछि, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्म संशोधित नामावली प्रकाशित हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय पाउनेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ। निर्वाचन चिन्ह पनि त्यसै दिन दिउँसो ३ देखि ६ बजेसम्म प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगले मतदान कार्य कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने जनाएको छ। साथै आयोगले समानुपातिक प्रणालीअन्तर्गत सन् २०७९ को संघ तथा प्रदेशसभा निर्वाचनको बन्दसूचीमा नाम समावेश भएकाहरूले यो उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया