उत्तरी गोरखाका दुर्गम मतदानस्थलमा पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता

गोरखा — उत्तरी गोरखाका हिमाली तथा दुर्गम क्षेत्रमा रहेका मतदानस्थलमा पुग्न निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले सडक पुगेको अन्तिम बिन्दुबाट तीन दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था रहेको छ। सडक सञ्जालले नछोएका कारण चुमनुब्री र धार्चे गाउँपालिकाका केही मतदानस्थलमा पुग्न अझै पनि लामो पैदल यात्रा अपरिहार्य बनेको हो।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा २२५ मतदानस्थल र ३३५ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये २४ वटा मतदानस्थल सडक सञ्जालबाट निकै टाढा रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार चुमनुब्री गाउँपालिकाका २३ र धार्चे गाउँपालिकाको १ मतदानस्थलमा सिधा सडक पहुँच छैन।

विशेषगरी चुमनुब्री गाउँपालिकाका मतदानस्थलमा पुग्न कर्मचारी तथा सुरक्षाकर्मीले कम्तीमा दुईदेखि तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। सबैभन्दा टाढा चुमनुब्री–१ स्थित साम्दो आधारभूत विद्यालय मतदान केन्द्र रहेको छ। सो केन्द्रमा पुग्न चुमनुब्री–३ पाङसिङसम्मको सडकपछि तीनदेखि चार दिनसम्म पैदल हिँड्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ। सोही वडाका गौरीशंकर आधारभूत विद्यालय तथा वडा नं. ७ स्थित छुलेनिले आधारभूत विद्यालय केन्द्रमा पनि तीन दिनको पैदल यात्रा आवश्यक पर्ने बताइएको छ।

त्यस्तै, चुमनुब्री–२ अन्तर्गत स्योस्थित गाविस भवन, ल्होको सामुदायिक भवन, वडा नं. ७ का बुद्ध आधारभूत विद्यालय र छेकम आधारभूत विद्यालय केन्द्रमा पुग्न पाङसिङबाट दुई दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था छ। वडा नं. ४ का प्रोक, छाक, नाम्रुङ र क्वाकस्थित मतदान केन्द्रहरूमा पनि सडक पुगेको स्थानबाट दुई दिनको पैदल दूरी रहेको छ।

केही मतदान केन्द्रमा भने एक दिनको पैदल यात्रा आवश्यक छ। क्राक आधारभूत विद्यालय र गुम्बाहिमाली आधारभूत विद्यालय केन्द्रमा मोटरबाट ओर्लेपछि एक दिनभर पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। वडा नं. ६ का सिप्चेत, चुम्लिङ, सिद्ध गणेश आधारभूत विद्यालय र खार सामुदायिक खोप केन्द्रमा पनि यस्तै अवस्था छ।

वडा नं. ३ अन्तर्गतका बुद्ध मावि, बुद्ध हिमाली आधारभूत विद्यालय (न्याक), सिदुङ आधारभूत विद्यालय (सस्र्यु) र फिलिम आधारभूत विद्यालय (पाती) केन्द्रहरूमा पनि सडक सञ्जाल नपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यी केन्द्रहरू सडकबाट एकदेखि चार घण्टासम्मको पैदल दूरीमा रहेका छन्।

उता धार्चे गाउँपालिका–१ स्थित हुलचुक मतदान केन्द्रसम्म सडक निर्माण भए पनि मोटर सञ्चालन हुन नसकेको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिए। बूढीगण्डकी नदीमा पुल नहुँदा इच्छा आधारभूत विद्यालय मतदान केन्द्रसम्म सवारीसाधन पुग्न नसकेको र सडकबाट करिब दुई घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

दुर्गम भूगोल र सीमित पूर्वाधारका कारण निर्वाचन व्यवस्थापनमा चुनौती देखिए पनि सबै नागरिकलाई मतदानको अवसर सुनिश्चित गर्न आवश्यक तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया