उजुरी छानबिन गर्न पाँचवटा उपसमिति गठन

काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विभिन्न उजुरीहरूको छानबिन गर्न पाँचवटा उपसमिति गठन गरेको छ।शुक्रबार सिंहदरबारमा भएको समितिको बैठकले एक सय उजुरीमध्ये ४८ वटा उजुरीको छानबिनका लागि उपसमितिहरू गठन गरेको हो।बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरीहरू छानबिन गर्न मनिष झा नेतृत्वमा एक उपसमिति गठन गरेको छ। उक्त उपसमितिमा अच्युत मैनाली र अर्जुननरसिंह केसी सदस्य रहेका छन्।

अर्थ मन्त्रालय, गैरकानुनी बिमा, मोबाइल बैंकिङ र एमसीसीसम्बन्धी उजुरीका छानबिनका लागि गोकुल बाँस्कोटा नेतृत्वमा अर्को उपसमिति गठन गरिएको छ। यस उपसमितिमा रामकृष्ण यादव र अमेरिकेश कुमार सिंह सदस्य रहेका छन्।संस्कृति, पर्यटन र परराष्ट्र मन्त्रालयसम्बन्धी उजुरीहरूको छानबिन गर्न लेखनाथ दाहालको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। विद्युत् प्राधिकरण र सहरी विकास मन्त्रालयसम्बन्धी उजुरीहरूको छानबिनका लागि प्रेम आलेको संयोजकत्वमा उपसमिति बनाइएको छ। साथै सहकारी, वैदेशिक रोजगार र धितोपत्रसम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

खेलकुद, नेपाल स्काउट र गैरकानुनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको संयोजकत्वमा हरि ढकाल र राजेन्द्र लिङदेन सदस्य रहेको उपसमिति बनाइएको छ।स्वास्थ्य मन्त्रालय, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको संयोजकत्वमा जनार्दन शर्मा र अशिम शाह सदस्य रहेको उपसमिति गठन गरिएको छ।बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अध्ययन गर्न बनाइएको उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया