इस्ट बंगाल र एपीएफ बराबरीमा, साफ महिला च्याम्पियनसिपको फाइनल तय

काठमाडौं – साफ क्लब महिला च्याम्पियनसिपको समूह चरण बुधबार सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफ र इस्ट बंगालबीचको अन्तिम खेल गोलरहित बराबरीमा सकिँदा प्रतियोगिताको समूह चरणको यात्रा पूरा भएको छ।

बराबरीको नतिजासँगै इस्ट बंगालले तालिकाको शीर्ष स्थान बनाउँदै फाइनलमा प्रवेश गरेको छ। चार समूह खेलमा तीन जित र एक बराबरीसहित इस्ट बंगालले कुल १० अंक जोडेको छ। इस्ट बंगालले समूह चरणमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–०, कराची सिटीलाई २–० र नस्रिन स्पोर्ट्स एकेडेमीलाई ७–० ले पराजित गरेको थियो।

घरेलु टोली एपीएफले पनि बराबरीबाट अंक बाँड्दै फाइनलमा स्थान बनाएको छ। एपीएफले समूह चरणमा चार खेल खेलेर दुई जित र दुई बराबरीसहित ८ अंक जोडेको छ। एपीएफले भुटानी टिम ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशी नस्रिन स्पोर्ट्स एकेडेमीलाई ४–० र पाकिस्तानी कराची सिटी एफसीलाई १–० ले हराएको थियो।

यसरी, इस्ट बंगाल र एपीएफ अब उपाधिका लागि डिसेम्बर २० मा फाइनल खेल्ने भएका छन्।

तपाईको प्रतिक्रिया