इरानको चेतावनी: लाखौँ अफगानले आइतबारसम्म देश नछाडे पक्राउ गरिने

काठमाडौं । इरान सरकारले आफ्ना सीमा भित्र रहेका अफगान आप्रवासी तथा शरणार्थीलाई स्वेच्छाले देश छोड्न चेतावनी दिएको छ। चेतावनीको पालना नगरेमा पक्राउ गरी निष्कासन गरिने इरानी अधिकारीहरूको भनाइ छ।

इरानले अफगान आप्रवासीलाई देश छाड्न आइतबारसम्मको समय दिएको हो। यद्यपि मानव अधिकारवादी संघसंस्थाहरूले यस प्रकारको सामूहिक निष्कासन अफगानिस्तानजस्तो गरिब र राजनीतिक अस्थिर राष्ट्रमा थप संकट सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।

इरानमा हाल झन्डै ४० लाख अफगान शरणार्थी तथा आप्रवासी रहेको अनुमान गरिएको छ, जसमा धेरैजसो दशकौँदेखि इरानमा बसोबास गरिरहेका छन्।

सन् २०२३ देखि इरान सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई निष्कासन गर्ने अभियान सुरु गरेको थियो। यो अभियानअन्तर्गत हालसम्म लाखौँ अफगानले इरान छाडिसकेका छन्। गत मार्चमा मात्रै इरान सरकारले अफगान आप्रवासीलाई आइतबारसम्म स्वेच्छाले देश छोड्न निर्देशन दिएको थियो।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) का अनुसार, सन् २०२५ को जुन महिनामा मात्रै २ लाख ३० हजारभन्दा बढी अफगानले इरान छोडेका छन्। त्यस्तै, संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (UNHCR) ले इरानले इजरायलसँगको युद्धको समयावधिमा दैनिक औसतमा ३० हजारभन्दा बढी अफगानहरूलाई निष्कासन गरेको अनुमान गरेको छ।

इरानी सरकारले भने आफूले युद्ध, गरिबी वा तालिबान शासनबाट भागेका अफगानहरूलाई लक्षित नगरेको स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया