इजरायलको दाबी: तेहरानको आकाशीय नियन्त्रणमा लियौं, इरानका एकतिहाइ मिसाइल प्रक्षेपक नष्ट

काठमाडौं — इजरायली सेनाले इरानको राजधानी तेहरानको हवाई क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले यस्तो दाबी गर्दै इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुर्‍याइएको जानकारी दिएका हुन्।

उनका अनुसार, इजरायली सेनाले अहिलेसम्म इरानको कुल मिसाइल प्रक्षेपण प्रणालीमध्ये करिब एकतिहाइ अर्थात् १२० भन्दा बढी प्रक्षेपक नष्ट गरिसकेको छ। डेफ्रिनले भने, “हामीले हिजो रातिमात्र २० भन्दा बढी मिसाइल प्रक्षेपक ध्वस्त पार्यौं, जुन इजरायलतर्फ लक्षित गरिएका थिए।”

उनका अनुसार, इजरायली वायुसेनाले मध्य इरानको इस्फाहान क्षेत्रमा करिब १०० सैन्य लक्ष्यमा आक्रमण गरेको छ। ती आक्रमणमा ५० वटा लडाकु विमान प्रयोग गरिएको बताइएको छ। आक्रमणका मुख्य लक्ष्यहरूमा मिसाइल भण्डारण स्थल, प्रक्षेपक यन्त्रहरू र कमान्ड केन्द्रहरू रहेका थिए।

इजरायल र इरानबीच हाल बढ्दो तनावका बीच सार्वजनिक गरिएको यो दाबीले दुबै मुलुकबीचको सैन्य संघर्ष थप जटिल बनाउने संकेत दिएको छ। इरानको तर्फबाट भने यसबारेमा आधिकारिक प्रतिक्रिया आएको छैन।

तपाईको प्रतिक्रिया