आफ्नो पहिचान जोगाउन मौलिक संस्कृति आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजका मौलिक परम्परा, संस्कृति र वेशभूषा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा प्रधानमन्त्री कार्कीले आधुनिकतासँगै संस्कृतिभित्र रहेका हानिकारक प्रथा सुधार गर्दै मौलिक पहिचान जोगाएर अघि बढ्नुपर्ने बताउनुभयो।

भेटका क्रममा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा उपस्थित थिए। उनीहरूको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयहरूमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आ–आफ्नो परम्परागत पोशाक लगाउने अभ्यास उपयोगी हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कतिपय समाज आधुनिकताको नाममा आफ्नो मौलिक पहिचान बिर्सिंदै गएको उल्लेख गर्नुभयो। नेपाल विविध संस्कृति, भाषा र परम्पराले भरिएको देश भएकाले यसलाई संरक्षण गर्नु सबैको साझा दायित्व भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो। उहाँले मौलिक संस्कृति संरक्षणका लागि सरकारी तहबाट पनि सकारात्मक पहल गर्न सकिने विषयमा विचार गर्नुपर्ने बताउनुभयो।

उक्त अवसरमा परिषद्का महासचिव राजु गुरुङले आगामी पुस १५ गते आयोजना हुने तमु ल्होसार विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा निमन्त्रणा गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया