‘आतंकवादविरुद्धको लडाइँमा एकता अपरिहार्य’ : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद विश्व शान्ति र सुरक्षाका लागि गम्भीर चुनौती बनेको बताएका छन्। उनले मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भारत–आसियान २२ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै आतंकवादविरुद्धको लडाइँमा एकतापूर्ण प्रयास आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार आर्थिक वृद्धि, क्षेत्रीय सहकार्य र सुरक्षा सुदृढीकरणका लागि सबै देशबीचको साझेदारी अझ विस्तार गर्नुपर्ने समय आएको छ। मोदीले भारत र आसियान विश्व जनसंख्याको करिब चौथाइ हिस्सा प्रतिनिधित्व गर्ने बताउँदै भने, “हामी केवल भौगोलिक रूपमा मात्र होइन, साझा इतिहास र मूल्यहरूले पनि एक आपसमा जोडिएका छौं।”

“हामी ग्लोबल साउथका सहयात्री हौं। भारत र आसियान व्यापारिक मात्र होइन, सांस्कृतिक साझेदार पनि हुन्,” मोदीले थपे। उनले भारतको ‘एक्ट इस्ट नीति’को केन्द्रमा आसियान रहेको उल्लेख गर्दै हिन्द–प्रशान्त क्षेत्रमा आसियानको दृष्टिकोणलाई भारतले सधैं समर्थन गर्दै आएको स्पष्ट पारे।

मोदीले अनिश्चितता बढिरहेको विश्व परिस्थितिमा भारत–आसियानबीचको रणनीतिक साझेदारी निरन्तर सुदृढ बन्दै गएको बताए। उनका अनुसार, “हाम्रो साझेदारी विश्व स्थिरता र विकासका लागि दृढ आधारका रूपमा स्थापित हुँदैछ।”

यस वर्षको आसियान शिखर सम्मेलनको मूल विषय ‘समावेशिता र दिगोपन’ रहेको उल्लेख गर्दै उनले डिजिटल समावेशिता, खाद्य सुरक्षा, र दिगो आपूर्ति शृंखला सुनिश्चित गर्न भारत प्रतिबद्ध रहेको बताए।

मोदीले भारतले विपद्‌का बेला सधैं आसियान देशहरूको साथ दिएको स्मरण गर्दै एचएडीआर (मानवीय सहायता तथा राहत), समुद्री सुरक्षा र नीलो अर्थतन्त्रमा सहकार्य तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले घोषणा गरे, “सन् २०२६ लाई हामी ‘भारत–आसियान समुद्री सहयोग वर्ष’का रूपमा मनाउनेछौं।”

साथै, शिक्षा, पर्यटन, विज्ञान–प्रविधि, स्वास्थ्य, हरित ऊर्जा र साइबर सुरक्षामा निरन्तर सहकार्य भइरहेको बताउँदै उनले भने, “एक्काइसौं शताब्दी भारत र आसियानको शताब्दी हो। आसियान समुदाय दृष्टि २०४५ र विकसित भारत २०४७ का लक्ष्यहरूले मानवताका लागि उज्यालो भविष्य निर्माण गर्नेछन्, र भारत यस यात्रामा काँधमा काँध मिलाएर अघि बढ्न प्रतिबद्ध छ।”

तपाईको प्रतिक्रिया