आगजनी र तोडफोडमा संलग्नलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्छ:मुख्यमन्त्री आचार्य


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएका घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।

सोमबार नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले प्रशासनले कारबाहीमा ढिलाइ गरेको विषयमा ध्यानाकर्षण गराए। मुख्यमन्त्री आचार्यले भने, “धैर्यताको बाँध अझै टुटेको छैन। कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो। तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ। धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन्।”

उहाँले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। “संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ,” उनले भने।

सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि पार्टीको बलियो किल्ला रहेको र संगठन अझ सुदृढ हुँदै गएको जानकारी दिए।

तपाईको प्रतिक्रिया