आइसिसी महिला टी-२० ग्लोबल छनोट: नेपालले १२३ रनको लक्ष्य पूरा गर्न सकेन

काठमाडौं ।काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।

नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गर्न पुगेको नेपालका लागि ओपनर विन्दु रावलले ४४ र सम्झना खड्काले २६ रन बनाएका थिए। पहिलो विकेटको बलियो साझेदारी ५ दशमलव ४ ओभरमा ५२ रनको रहेको थियो, तर मध्यक्रमका ब्याटरहरूले त्यसलाई निरन्तरता दिन सकेनन्। पूर्व कप्तान रुविना क्षेत्रीले १७ र उपकप्तान पूजा महतोले १२ रन थपे।

जवाफमा थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाएर १२३ रनको लक्ष्य पुरा गर्यो। थाइल्यान्डकी नात्थाकन चन्थमले ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ५७ रन बनाइन। यस्तै, नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रन योगदान गरे। नेपालका लागि सीता रानामगरले २ विकेट लिए। बलिङतर्फ थाइल्यान्डकी थिपाच्चा पुथावाङले ४ विकेट लिइन् भने ओनिचा कामचोम्फुले २ विकेट लिए।

यस हारपछि नेपाल समूह ‘बी’ मा रहेको प्रतिस्पर्धामा आगामी बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ। प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोलीहरू ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चारमा रहने टोली सन् २०२६ मा इङ्गल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया