अस्ट्रियाको विद्यालयमा भीषण गोलीकाण्ड, ११ जनाको मृत्यु


अस्ट्रिया — अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको भीषण गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये १० जना विद्यालयका विद्यार्थी र कर्मचारीहरू रहेका छन् भने आक्रमणकारीले आत्महत्या गरेपछि मृतकको संख्या ११ पुगेको हो।

देशको इतिहासमै सबैभन्दा ठूलो विद्यालयभित्रको गोलीकाण्ड मानिएको यो घटनाप्रति अस्ट्रिया सरकारले गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। पीडितप्रति श्रद्धाञ्जली स्वरूप बुधबार बिहान १० बजे एक मिनेट मौनधारण गरिने कार्यक्रम तय गरिएको छ।

प्रहरीका अनुसार आक्रमणकारी २१ वर्षीय युवक हुन्, जो सोही विद्यालयका पूर्व विद्यार्थी थिए। उनले पेस्तोल र बन्दुक प्रयोग गरी गोली चलाएका थिए। आक्रमणमा १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको गृहमन्त्री गेरहार्ड कर्नरले जानकारी दिएका छन्।

घटनामा ज्यान गुमाउनेमा प्रारम्भिक विवरण अनुसार छ महिला र तीन पुरुष छन्। शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले विद्यालय अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया