अमेरिकी चेतावनी बेवास्ता गर्दै भारतले रुसी तेल खरिद जारी राख्यो, स्वदेशी उत्पादनमा मोदीको जोड

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा खरिदप्रति तीव्र आलोचना गरे पनि भारतले रुसबाट तेल खरिद रोक्ने कुनै संकेत देखाएको छैन। बरु रूसी आपूर्तिकर्ताहरूले दिएको आकर्षक छुटका कारण भारतले अझै पनि उक्त खरिदलाई निरन्तरता दिइरहेको छ।

भारतीय रिफाइनरहरू अझै सक्रिय

‘हिन्दुस्तान टाइम्स’ समूहको आर्थिक समाचार प्रकाशन ‘मिन्ट’का अनुसार, ‘इन्डियन आयल कर्पोरेसन लिमिटेड (IOC)’, ‘भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड (BPCL)’ र ‘हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (HPCL)’ जस्ता सरकारी स्वामित्वका रिफाइनिङ कम्पनीहरूले पछिल्लो समय रुसी तेल खरिदमा सक्रियता बढाएका छन्।

छुट बढेसँगै ‘स्पट डिल’का लागि समेत रूसी आपूर्तिकर्तासँग वार्ता अघि बढाइएको छ। पछिल्ला दुई कार्गोमा प्रति ब्यारेल तीन डलरसम्मको छुट दिइएको छ, जुन अघिल्लो खरिदमा करिब १.७ डलरसम्म मात्र थियो।

यद्यपि अहिलेको छुट २०२२ को तुलनामा कम हो। त्यस समय भारतले प्रतिब्यारेल झन्डै ३० डलरसम्मको उच्चतम छुट पाएको थियो।

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई ३० मा घोषणा गरेका थिए कि अगस्ट ७ देखि भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लागु गरिनेछ। साथै, रुससँगको रक्षा र ऊर्जा सम्झौताका कारण भारतमाथि थप प्रतिबन्ध र जरिवाना लगाइने चेतावनीसमेत दिएका छन्।

रूसी तेल लोड भएका ट्यांकर भारततर्फ

अमेरिकी मिडिया ‘ब्लुमबर्ग’का अनुसार, रूसी कच्चा तेल लोड भएका कम्तीमा चारवटा ट्यांकरहरू भारतको पश्चिमी तटमा देखिएका छन्। ‘द अकिलिज’ र ‘द एलाइट’ नामका ट्यांकरहरू जामनगर नजिकै रहेको सिक्का बन्दरगाहमा पुग्ने तालिकामा छन्। यी दुबै ट्यांकर युरोपेली संघ र बेलायतको प्रतिबन्ध सूचीमा परेका हुन्।

‘एफ्रामेक्स’ श्रेणीका यी ट्यांकरहरूले करिब ७ लाख ब्यारेल कच्चा तेल बोक्न सक्ने क्षमता राख्छन्। अन्य दुई ट्यांकर ‘देस्तान’ र ‘हराई’ पनि रुसबाट युराल्स तेल लिएर भारततर्फ गइरहेका देखिन्छन्।

मोदीको स्वदेशी उत्पादनमा जोड

ट्रम्पको शुल्क घोषणा पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न आह्वान गरेका छन्। वाराणसीमा आयोजित र्‍यालीमा बोल्दै उनले भारतले आफ्नो आर्थिक हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

‘आज विश्व अर्थतन्त्र अनिश्चितताको अवस्थामा छ। यस्तोमा हरेक देशले आफ्ना हितप्रति सजग हुनुपर्छ,’ मोदीले भने। उनले भारतीय जनतालाई देशभित्रै उत्पादन भएका वस्तुहरूको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरे।

प्रधानमन्त्री मोदीले रोजगार सिर्जना, उद्योग प्रवर्द्धन, र स्वदेशी सीपको सम्मानलाई प्राथमिकतामा राख्दै, “भारतलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने हाम्रो साझा लक्ष्य हो,” भनेर जोड दिए।

तपाईको प्रतिक्रिया