अमेरिकासँग भन्सार तनाव हुँदाहुँदै चीनको व्यापार नाफा १० खर्ब डलर नाघ्यो

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार वृद्धि गर्दै व्यापार तनाव बढाए पनि चीनको वार्षिक व्यापार नाफा पहिलो पटक १० खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। चीनले सार्वजनिक गरेको पछिल्लो भन्सार तथ्यांकअनुसार वर्षको पहिलो ११ महिनामा देशको वस्तु व्यापार नाफा १० खर्ब ७६ अर्ब डलरमा पुगेको छ। यसमा सेवा व्यापार समावेश छैन।

गत वर्ष चीनको व्यापार नाफा ९ खर्ब ९२ अर्ब डलर थियो। तर यस वर्ष ११ महिनामै नाफा १० खर्ब डलर पार गरेको छ।

अक्टोबरमा ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच एक वर्षका लागि व्यापार–युद्ध विराम गर्ने सहमति भएपछि चीनको व्यापार नाफामा थप वृद्धि भएको बताइएको छ।

उच्च भन्सारको कारण अमेरिकामा चीनको निर्यात केही घटे पनि अन्य बजारमा बिक्री बढेकाले समग्र निर्यात स्थिर तथा उच्च रहँदै आएको छ।
अक्टोबरमा अमेरिकातर्फको निर्यात २५ प्रतिशतले घटेको थियो, जसका कारण समग्र निर्यातमा केही कमी देखिएको थियो।

तर व्यापार–युद्ध विरामपछि चीनको निर्यात पुनः वृद्धि हुने अपेक्षा व्यक्त गरिएको छ। साथै, चीनले फेन्टनिल उत्पादनमा प्रयोग हुने कच्चा रसायनको नियन्त्रण कडा गर्ने आश्वासन दिएपछि ट्रम्प प्रशासनले चिनियाँ सामानमा लाग्ने भन्सार १० प्रतिशतले घटाउने सहमति जनाएपछि व्यापार विस्तारको सम्भावना अझ बढेको बताइएको छ।

दक्षिण एसिया तथा युरोपतर्फ चीनको निर्यात अक्टोबरमा पनि वृद्धि भएको थियो, यद्यपि अघिल्लो वर्षको तुलनामा वृद्धि दर केही कम रह्यो।

तपाईको प्रतिक्रिया