अमेरिकामा गर्भमेन्ट सर्टडाउनका कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म प्रभाव 

वासिङ्टन डीसी । अमेरिकामा करिब ४० दिनदेखि जारी सरकारी सटडाउन (गर्भमेन्ट सटडाउन) का कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म ठूलो असर परेको छ।

विश्वकै धनी मुलुकमध्ये एक अमेरिकामा संघीय सरकारको आर्थिक गतिविधि ठप्प भएपछि दैनिक जनजीवन र साना व्यवसायमा प्रत्यक्ष प्रभाव परेको हो।

सटडाउनका कारण करिब १४ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्। उनीहरूमध्ये आधाभन्दा बढीले काम रोकेका छन्, जसको सबैभन्दा ठूलो प्रभाव विमानस्थलमा परेको छ।

संघीय सरकार मातहतका सुरक्षाकर्मी र एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले तलब नपाएपछि कार्य समय घटाएका छन्। यसले आन्तरिक उडानहरूमा अवरोध सिर्जना गरेको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले जनाएको छ।

एफएएका अनुसार हार्टस्फिल्ड ज्याक्सन (एटलान्टा), डालस फोर्टवर्थ, डेन्भर, सिकागो, लस एन्जलस, जेएफके, बोस्टन लोगन, सान फ्रान्सिस्को, सिआटल र फिनिक्स स्काइ हार्बरलगायत ४० व्यस्त विमानस्थलमा करिब १० प्रतिशत उडान कटौती गरिएको छ।
उडान घटेपछि यात्रुहरू समयमा यात्रा गर्न नसक्ने, टिकट मूल्य बढ्ने र विमानस्थलमा चाप बढ्ने समस्या देखिएको छ।

अर्कोतर्फ, सटडाउनका कारण साना किराना पसलहरू पनि प्रभावित भएका छन्। संघीय सरकारले उपलब्ध गराउने फुड स्ट्याम्प (खाद्य सहायता) रोकिँदा कम आय भएका परिवारहरूले दैनिक उपभोग्य वस्तु खरिद गर्न नसकेका छन्।

अमेरिकाका करिब ३० प्रतिशत परिवार फुड स्ट्याम्पमा निर्भर छन्। सीएनएनका अनुसार टेक्ससको एल पासोस्थित सैनिक कार्यालयकी नर्स लिसा मोरालेसले तलब नपाउँदा घरभाडा, ग्यास, बीमा, किराना र युटिलिटी बिल तिर्न नसकेको गुनासो गरेकी छन्।

“हामी बेरोजगार होइनौं, तर तलब नपाउँदा काम गर्न पनि कठिन भइरहेको छ,” उनले सीएनएनसँग भनेकी छन्, “अब हाम्रो दैनिक खर्च कसरी धान्ने भन्ने चिन्ता छ।”

सटडाउन लामो समय कायम रहे आर्थिक प्रणाली नै संकटमा पर्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरूको चेतावनी छ।

तपाईको प्रतिक्रिया