अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै कार्य सरकारले गर्दैन : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम हुने छैन भन्ने कुरा स्पष्ट पारेका छन्।

शुक्रबार ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी र समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनी आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भने, “हिजो जसले सँगै रहेर मस्यौदा गरेका थिए, अहिले ती नै अभिव्यक्ति स्वतन्त्रता हनन् भएको कुरा गर्दै सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै चर्का टिप्पणी गर्दैछन्।”

“हिजो तिनीहरूले टिकटकमा प्रतिबन्ध लगाएका थिए, हामीले त्यसलाई खोल्यौँ। अहिले तिनीहरूले भनेका छन् कि जे पनि बोल्न पाउनुपर्छ र अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” ओलीले थपे, “स्वतन्त्रताको नाममा देशविरुद्ध, शान्ति र सुरक्षा भड्काउने र सामाजिक सद्भावमा विघटन ल्याउने कार्य स्वीकार्य हुँदैन। अनावश्यक रूपमा शान्ति भड्काउने र अनियन्त्रित रूपमा बोल्ने काम नगर्नु पर्छ। आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारमा असर पर्ने काम गर्नु हुँदैन।”

प्रधानमन्त्री ओलीले आफूलाई स्वीट्जरल्याण्डको बैंकमा पैसा राखेको भन्ने प्रश्न उठाएर भ्रम फैलाइएको सन्दर्भमा जवाफ दिँदै भने, “मलाई किन त्यत्रो सम्पत्ति चाहिन्छ? दुईवटा रोटी र अलिकति दाल खाउने हो। मैले सम्पत्ति लुकाउनुपर्ने कुनै कारण छैन। मेरो जीवन खुल्ला र पारदर्शी छ। यस्ता हल्ला चलाउने र भ्रम फैलाउने कार्य हाम्रो सभ्यतामा पर्दैन।”

उनले सुशासनमार्फत मात्र देशलाई समृद्धितर्फ लैजान सकिने बताउँदै भने, “सुशासन एउटा गम्भीर चुनौती हो र यसका लागि छिटो र छरितो रूपमा कानूनी प्रक्रिया अघि बढाएर काम गर्न सरकार प्रतिबद्ध छ।”

तपाईको प्रतिक्रिया