अब देउवा पार्टी सभापति नबन्ने : कांग्रेस प्रवक्ता महत

काठमाडौं — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा अब पुनः सभापति बन्ने intention नरहेको स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतले भने, “हाम्रो सभापतिजीले पहिलेदेखि नै अब सभापति नबन्ने भनेर स्पष्ट भनिसक्नुभएको छ।”

शेरबहादुर देउवा नेपाली कांग्रेसको १३ औं र १४ औं महाधिवेशनमा सभापति निर्वाचित भएका थिए। पार्टीको विधानअनुसार, एक व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था छ।

प्रवक्ता महतका अनुसार, २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवाले सहभागी भएर आफ्ना धारणा सार्वजनिक रूपमा राख्नेछन। देउवा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा भने अनुपस्थित रहे।

महतले पार्टी नियमित महाधिवेशनतर्फ अघि बढिरहेको जानकारी पनि दिए। २६ असोजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा यस विषयमा गहन छलफल गरिने बताइएको छ।

उनका अनुसार, महाधिवेशनको कार्यतालिका आवश्यक समय निर्धारण गरेर सार्वजनिक गरिनेछ।

त्यसैगरी, पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरिरहेको उल्लेख गर्दै महतले भने, “यो प्रक्रिया पार्टीलाई कमजोर बनाउने हो कि भन्ने कोणबाट पनि छलफल भइरहेको छ, त्यसैले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ।”

सूत्रअनुसार, ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेको जनाइएको छ।

फरक प्रसंगमा महतले, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न खोजिएको विषयबारे आफूले ‘के खेल हो’ भन्ने बुझ्न नसकेको टिप्पणी गरे।

भदौ २३ मा भएको घटनापछि मृत्यु भएका व्यक्तिहरूका परिवारले ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी अनुसन्धानका लागि आयोगमा पठाइए पनि पछि आयोगले पुनः प्रहरीलाई फिर्ता पठाएको थियो।

तपाईको प्रतिक्रिया