अन्तर्राष्ट्रिय फुटबलबाट नेपाललाई धक्का, एन्फामाथि फिफाको प्रतिबन्ध

विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार एन्फाका महासचिव किरण राईलाई पत्र पठाउँदै उक्त निर्णयबारे जानकारी गराएको हो।

फिफाले जारी गरेको पत्रमा एन्फासम्बन्धी देखिएका केही घटनाक्रमलाई आफ्नो विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप तथा सदस्य संघको दायित्व उल्लंघनका रूपमा व्याख्या गरिएको उल्लेख छ। सोही आधारमा फिफा काउन्सिल ब्युरोले जुन २४, २०२६ मा एन्फामाथि अस्थायी निलम्बन लगाउने निर्णय गरेको जनाएको छ।

निलम्बन हटाउनका लागि फिफाले केही सर्तहरू पनि अघि सारेको छ। मार्च २५, २०२६ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको निर्णय बिना कुनै सर्त पूर्ण रूपमा फिर्ता लिनुका साथै हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, एन्फाको विधान र नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया कुनै अवरोधबिना छिटो सम्पन्न गर्न आवश्यक वातावरण सुनिश्चित गर्न पनि फिफाले आग्रह गरेको छ।

यसअघि राखेपले मार्च २५ मा एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि नेपाली फुटबल प्रशासनसँग सम्बन्धित विषयमा फिफाले चासो व्यक्त गर्दै आएको थियो।

फिफाको निलम्बन लागू भएसँगै एन्फाले सदस्य संघका रूपमा प्राप्त अधिकारहरू अर्को निर्णय नभएसम्म प्रयोग गर्न नपाउने भएको छ। साथै, एन्फाअन्तर्गतका राष्ट्रिय टोली र क्लबहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउन पनि नपाउने भएका छन्।

निलम्बन फुकुवासम्बन्धी निर्णय फिफाले तोकेका सर्तहरूको कार्यान्वयनपछि मात्र हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया