अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाक्रीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ।

झाक्रीले असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष नेपालको आलोचना गर्दै अभिव्यक्ति दिएकी थिइन्। उनले प्रशिक्षणमा भनिन्, ‘कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आएको छ। अरू कैयौं नेताहरूमा पनि समस्या देखिएको छ। अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिन्न।’

अध्यक्ष नेपाल पतञ्जली योग पिठसँग सम्बन्धित जग्गा प्रकरणमा मुछिएपछि विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

झाक्रीको उक्त अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले तीन दिनभित्र लिखित रूपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। पार्टीका सचिव सोमनाथ पाण्डेले स्थायी समिति सदस्य झाक्रीसँग आयोगले औपचारिक रूपमा स्पष्टीकरण मागेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया