अदालतमा बयान फेरेपछि सरकारी साक्षी घर्तीमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत टंकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। घर्तीले प्रारम्भमा सहयोगी र सरकारी साक्षीको रूपमा आयोगलाई सहयोग गरेको थिए।

अनुसन्धान अनुसार, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० निवासी घर्ती ‘देउतीबज्यै कन्स्ट्रक्सन’का सञ्चालक हुन्। उनले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी सहज बनाउन लेखा अधिकृत टंकबहादुर कार्की लाई १ लाख रुपैयाँ घुस दिएको खुलेको थियो।

सुरुमा अनुसन्धानका क्रममा घर्तीलाई सरकारी साक्षीका रूपमा सहयोग पुर्याएपछि सजायमा छुट दिइएको थियो। तर गत वैशाख २२ मा विशेष अदालतमा बयान फेरेर उनले पूर्ववर्ती बयान विपरीत जानकारी दिएपछि आयोगले उनीमाथि पुनः अनुसन्धान सुरु गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार, आफ्नो बयानबाट पछि हटेर आरोपितलाई बचाउने प्रयास गरेको पुष्टि भएपछि घर्तीमाथि प्रतिवादी बनाएर १ लाख रुपैयाँ बिगो, कैद र जरिवानासहितको आरोपपत्र दायर गरिएको छ।

तपाईको प्रतिक्रिया