राजतन्त्र पुनर्स्थापनासम्बन्धी गतिविधि रोक्न सांसदहरूको आग्रह, राष्ट्रिय सहमतिको सुझाव

फाइल

काठमाडौँ — पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः नारायणहिटी फर्काउने विषयमा भइरहेको गतिविधिप्रति सांसदहरूले चिन्ता व्यक्त गर्दै सरकारलाई सचेत रहन आग्रह गरेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा उनीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। साथै, देशमा स्थिरता कायम गर्न दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको सुझाव पनि दिएका छन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले प्रगतिशील सोच, जवाफदेहिता र सुशासनमार्फत जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै देशलाई अगाडि बढाउनु पर्नेमा जोड दिए। उनले भने, “संविधानलाई व्यवहारमा उतार्दै जनताको चासोलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ।”

एमाले सांसद इन्दिरा देवी गौतमले सामाजिक विकृति र अराजकता नियन्त्रण गर्दै युवा पुस्तामा आशा जगाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताइन्।

माओवादी सांसद सुरेश आलेमगरले राजतन्त्र जस्तो पुरानो व्यवस्था फर्काउने प्रयासलाई प्रतिगमनको संकेत भन्दै आलोचना गरे। उनले भने, “२ सय ५० वर्ष शासनमा रहेको राजतन्त्रले देशलाई कहाँ पुर्‍यायो, फेरि त्यही व्यवस्था ल्याएर के हुनेछ?”

एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले राजतन्त्र फेरि सक्रिय हुने प्रयासले राजनीतिक अस्थिरता निम्त्याउने भन्दै सबै दललाई सजग रहन आग्रह गरिन्। उनले भनिन्, “संविधानमाथि आक्रमण भइरहेको छ, प्राप्त अधिकारहरू कमजोर बनाइँदैछन्, त्यसैले संविधान कार्यान्वयन अझै प्रभावकारी बनाउनुपर्छ।”

उनै पार्टीका सांसद उदयबहादुर सापकोटाले सरकारको कार्यशैली नसच्चिए प्रणाली नै संकटमा पर्ने चेतावनी दिएका छन्।

जसपा नेपालका सांसद मोहम्मद खालिदले लामो संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताए। उनले भने, “यदि कसैलाई गणतन्त्र मन परेन भने स्पष्ट भन्नुपर्छ कि उनीहरू प्रतिगमन चाहन्छन्। तर राष्ट्र निर्माण गर्ने दृढता आवश्यक छ।”

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने स्पष्ट पारे। उनले भने, “नारायणहिटी फर्काउने नारासहित केही समूह सडकमा देखिन थालेका छन्। तर जनताको बलिदानबाट आएको यो प्रणालीमाथि आक्रमण गर्न दिइनु हुँदैन।”

तपाईको प्रतिक्रिया