अहिलेको सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना : अध्यक्ष दाहाल

फाइल तस्बिर।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारबाट विकासको अपेक्षा गर्नु केवल दिवा सपना मात्र हुने बताएका छन्।

माओवादीले शुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत महोत्तरीको जलेश्वर पुगेका अध्यक्ष दाहालले अहिलेको सरकार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई मात्र बचाउन बनेको सरकार भएको भन्दै, यस सरकारबाट विकासका सपनाहरू देख्नु बेकार हुने बताएका छन्।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले महोत्तरीको भिठ्ठामोडमा सुख्खा बन्दरगाह निर्माणको लागि ज्ञापनपत्र बुझाएका थिए, तर त्यसको प्रगति केही नभएको जानकारी दिएपछि दाहालले जवाफमा भने कि, आफू प्रधानमन्त्री हुँदा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउन निर्देशन दिएका थिए, तर वर्तमान सरकारको समयमा त्यो प्रक्रिया रोकिएको छ।

हुलाकी राजमार्ग केन्द्रित अभियानमा सहभागी माओवादी केन्द्रका प्रवक्ता र पूर्व सभामुख अग्नि सापकोटाले सरकारलाई भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई बचाउन र इमानदारहरूलाई दबाउन लागेको आरोप लगाए। उनले नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई अनावश्यक दु:ख दिएर फसाउन खोजिएको र देशलाई लोडसेडिङ मुक्त बनाएको भन्दै सरकारको कदमप्रति आलोचना गरे।

माओवादीले शुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत महोत्तरीको जलेश्वर पुगेर दाहालसहितको टोलीले महोत्तरीका विभिन्न स्थानहरूको अवलोकन गरेका र सरोकारवाला निकायहरूसँग छलफल पनि गरेका छन्।

तपाईको प्रतिक्रिया