परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज ओमनको मस्कटमा भएको आठौँ हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएकी छन्।

भारतीय विदेशमन्त्री डा. एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको निमन्त्रणामा फागुन २ गते ओमन जानुभएको थियो। मस्कटमा आयोजित सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री डा. देउवाले सम्बोधन गरेकी थिइन् । सम्मेलनको मुख्य विषय समुद्रजन्य सहकार्यका नयाँ सम्भावनाहरू थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री डा. देउवाले इरानका विदेशमन्त्रीसँगको भेटमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेको कुरा जानकारी गरेकी छिन्।

त्यस्तै, जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा उहाँले नेपालमा गत असोज महिनामा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माणमा सहयोग गर्न अनुरोध गरिएको थियो र युएई, श्रीलंका र ओमनका विदेशमन्त्रीहरूसँगको भेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्नका लागि सम्बद्ध राष्ट्रहरुलाई आग्रह गरिएको थियो । यस भ्रमणको क्रममा नेपाल र ओमनबीच कूटनीतिक र पर्यटन क्षेत्रमा दुई अलग-अलग समझदारी पत्रमा हस्ताक्षर पनि गरिएको थियो।

तपाईको प्रतिक्रिया