चिकित्सा शिक्षा आयोगको बैठक: विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औं बैठकमा निजी मेडिकल कलेजहरूमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा, निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनको लागि विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो। यसबारे थप छलफल गर्न आगामी बैठकमा प्रस्ताव प्रस्तुत गरिने छ। अहिले मेडिकल कलेजहरूले १० प्रतिशत विदेशी विद्यार्थीको सिट व्यवस्था गरेको छन्।

यसअघि, माघ २५ गतेको आयोगको १६औं बैठकले आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन गर्दै, निजी मेडिकल कलेजले सरकारी सरह मासिक रु ४८,४३६ निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो।

आजको बैठकमा आयोगले चिकित्सा शिक्षा सम्बन्धी एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, र शिक्षण संस्थाको सिट संख्या र शुल्क निर्धारणसँग सम्बन्धित निर्णय पनि गरेको छ। बैठकले स्नातकोत्तर तहमा २०९ सिट थप गर्ने निर्णय गरेको छ। साथै, नर्सिङ शिक्षाको अध्यापन र क्षमता विस्तारका सम्बन्धी प्रतिवेदन पारित गरिएको छ र शैक्षिक संस्था र कार्यक्रमहरूलाई एकत्रित गर्ने मापदण्डका बारेमा पनि छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न असम्भव भएको उल्लेख गर्दै, निजी कलेजहरूको सहकार्य आवश्यक पर्नेमा जोड दिएका छन्। उनले नर्सिङ शिक्षालाई मजबुत बनाउन र नर्सको सेवा तथा सुविधामा सुधार गर्न प्रस्ताव ल्याउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया