राजेन्द्र महतोले पाथीभरा केबलकार निर्माण रोक्न माग गरे

काठमाडौँ – राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई रद्द गर्न माग गरेका छन्।

महतोले आइतबार एक विज्ञप्ति जारी गर्दै केबलकार निर्माणको विरोध गर्दै स्थानीय समुदायको प्रदर्शनमा प्रहरीको हस्तक्षेपलाई आलोचना गरेका छन्। ‘नो केबलकार समूह’ नामक स्थानीय संगठनले आन्दोलन सुरु गर्दा प्रहरीले तिनीहरूमाथि दमन गरेको छ।

महतोका अनुसार, शान्तिपूर्ण रूपमा आफ्नो संस्कृति र पहिचान बचाउन जुटेका नागरिकमाथि प्रहरीले गोली प्रहार गरेको र यसबाट यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएका छन्।

महतोले भने, “पाथीभरा (मुकुलुंग) कुनै सामान्य स्थल होइन; यो सम्पूर्ण नेपालीहरूको आस्था र विश्वासको प्रतीक हो। यसलाई कुनै व्यक्तिको नाफा र घाटाको लागि प्रयोग गर्न दिनु हुँदैन। यसलाई प्राकृतिक रूपमा रहन दिनुपर्छ र रैथाने परम्पराअनुसार पूजापाठ गर्नुपर्छ।”

त्यस्तै, महतोले भने, “यस पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै प्रयासलाई अस्वीकार गर्दै स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना कुनै विकास हुन नसक्ने स्पष्ट पारेका छन्। उनले आन्दोलनकारी नागरिकहरूसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।”

तपाईको प्रतिक्रिया