विदेशमा रहेकी शिक्षिकाको नाममा गलत तरिकाले तलब निकासा

सिरहा – गोलबजार नगरपालिका-४ स्थित जनता माध्यमिक विद्यालयका एक शिक्षिकाको नाममा विदेशमा रहेपनि तलब निकासा गरिएको पाइएको छ। विद्यालयकी शिक्षिका विमलाकुमारी झा २०८१ जेठ महिनादेखि विद्यालयमा अनुपस्थित रहेको र अहिले अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन्। तर, उनका नाममा २०८१ असोज महिनासम्म २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा तलब निकालिएको जानकारी प्राप्त भएको छ।

यस घटनामा विद्यालयका प्रधानाध्यापक र नगरपालिकाका शिक्षा शाखासमेत संलग्न रहेका छन्। प्रधानाध्यापक भरत साहले यसलाई गल्तीले भएको बताएका छन् भने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध लामाले विद्यालयबाट आएको सिफारिसको आधारमा तलब निकासा गरिएको बताए।

यद्यपि, शिक्षिकाको बिदा जिल्ला शिक्षा समन्वय इकाईबाट स्वीकृत नभएको जानकारी पनि प्राप्त भएको छ। नगरपालिकाले अब यस विषयमा स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाउने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया