गृहमन्त्री रमेश लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

काठमाडौँ — गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो कोस्वाबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा गृहमन्त्री लेखकले भौतिक पूर्वाधारको क्षेत्रमा एडिबीको योगदानको कदर गर्दै धन्यवाद दिएका छन्। उनले विशेष गरी पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्डको स्तरोन्नति, महाकाली करिडोरको सडक निर्माण, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, र भारतीय सहयोगमा निर्माणाधीन दोधारा चादँनी सुख्खा बन्दरगाहसँग सम्बन्धित अन्य भौतिक संरचनाहरूको विकासमा एडिबीको सहयोगको महत्वको चर्चा गरे।

यसैगरी, गृहमन्त्री र एडिबी निर्देशकको बीच सुदूरपश्चिममा एडिबीको सहयोगमा चलिरहेका आधुनिक शहर निर्माण र धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा थप सहयोगका लागि छलफल पनि भएको छ।

गृहमन्त्री लेखकले एडिबीको सुदूरपश्चिमको पर्यटकीय विकाससम्बन्धी सर्वे रिपोर्टलाई कार्यान्वयनमा ल्याउन जोड दिएका थिए। यस विषयमा एडिबीका निर्देशक कोस्वाले माथिल्लो तहसँग छलफल गरी जवाफ दिने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया